Inline Banner Index – 728×90

डा. घोडासैनीले ल्याए ‘नबजेका धुनहरू’

0

विगत लामो समयदेखि निरन्तर साहित्य साधनामा सक्रिय गीतकार, कवि एवं गजलकार डा. खगेन्द्र घोडासैनीले नवीतम कृति बजारमा ल्याएका छन् । घोडासैनीको पछिल्लो कृति ‘नबजेका धुनहरू’ गीत/कविता सङ्ग्रह हालै प्रकाशित भएको छ । ‘नबजेका धुनहरू’ गीत/कविता सङ्ग्रहको लोकार्पण माघ १७ गते राप्ती साहित्य परिषद्को आयोजनामा कवि साहित्यकार डा. अमर गिरीले गर्नुभयो ।

अछाम जिल्लाको ढकारी ८ घोडासैनमा जन्मिएर विभिन्न शिक्षण संस्था र ठाउँमा बसोबास गरी त्यहाँका अनेकौँ अनुभव बटुलेका डा. खगेन्द्र घोडासैनी पेसाले हाल नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, बिजौरीका उपप्राध्यापक हुनुहुन्छ । राप्ती साहित्य परिषद्का अध्यक्ष साहित्यकार पुरुषोत्तम खनालका लेख्नुहुन्छ– “पछिल्लो समयमा भाषा र साहित्यको प्राध्यापनमा मात्रै नभएर त्यसको वैज्ञानिक अनुसन्धान र वस्तुपरक समालोचनाका क्षेत्रमा पनि उहाँ निकै सक्रिय रहनुभएको छ । उहाँका रचनाहरूमा समकालीन समयका अँध्यारा बिम्बहरूदेखि लिएर नेपाली समाजका पीडा, गुनासा र सुस्केराहरू पनि अभिव्यक्त भएका छन् । उहाँका रचनामा देशप्रेमको भावना, सामाजिक उत्तरदायित्व र प्रणयजन्य अनुभूतिहरूले पनि उत्तिकै स्थान पाएका छन् भने सशस्त्र द्वन्द्वका प्रभावले सिर्जना गरेका विषम परिस्थितिहरूको काव्यिक चित्रण पनि गरिएको छ । कतिपय रचनाभित्र समाजमा विद्यमान विकृति, विसङ्गति र पाखण्डहरूको पर्दाफास पनि गरिएको छ भने कतिपय रचनाका हरफभित्र विद्रोह र परिवर्तनका स्वरहरू मुखरित पनि भएका छन् ।”

‘नबजेका धुनहरू’ गीत/कविता सङ्ग्रहमा भूमिका लेख्नुहुने प्रा.डा. सुधन पौडेलका शब्दमा– “दाङमा रहेर साहित्य सिर्जनामा लागेका खगेन्द्रजीको यो प्रथम साहित्यिक कृति हो । दुई खण्डमा विभक्त यो कृतिको पहिलो खण्डमा २०५६ देखि २०६२ सालसम्मको ६ बर्से अवधिमा लेखिएका ३४ ओटा गीतहरू समेटिएका छन् । त्यस्तै दोस्रो खण्डमा २०५६ देखि ०६४ सम्मको ८ बर्से अवधिमा लेखिएका ४५ ओटा कविता र १७ ओटा हाइकुहरू समाविष्ट छन् । अन्त्यमा हरेक रचनाको रचनाकाल उल्लेख गर्ने उहाँको शैली मलाई अनुकरणीय लाग्यो, किनभने यसबाट स्वयम् नै आफ्ना रचनाको शैली र भावगत भिन्नताको आकलन गर्न सकिन्छ र यो एकप्रकारको वैज्ञानिक एवं व्यवस्थित तरिका पनि हो । अधिकांशतः आजभन्दा बिस एक्काइस वर्ष अगाडिको कुर्कुरे बैँसको किशोर वयमा लेखिएका यी गीत र कवितामा कविको तत्कालीन मनस्थितिको अभिव्यक्ति हुनु स्वाभाविकै हो । फेरि पनि यी गीत र कवितामा बैँसको शालीन प्रणयपुकार छ, जुन प्रेमिका लक्षित हो कि परमात्मा लक्षित हो, ठोकेर भन्न सकिँदैन । सँगै यिनमा युगीन चेतनाका अनेकौँ सन्दर्भहरूको विच्छित्तिपूर्ण प्रस्तुति छ” भन्ने विचार व्यक्त गरेका छन् ।

अर्का समीक्षक सहप्रा.डा. बाबुराम आचार्य लेख्नुहुन्छ– पेसाले नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत घोडासैनीलाई लेखक, समालोचक र अनुसन्धाताका रूपमा चिनिन थालेको पाँच छ वर्ष नै भइसक्यो । पछिल्लो कृति ‘नबजेका धुनहरू’ले कवि तथा गीतकारका रूपमा पनि चिनाएको छ । तुलनात्मक रूपमा पछिल्लो समयमा समालोचना र अनुसन्धानका क्षेत्रमा आफूलाई दह्रो रूपमा उभ्याउन सफल घोडासैनीको पाठ्यपुस्तक लेखन, सम्पादन र संयोजनमा समेत संलग्नता र सक्रियता पाइन्छ । हुने बिरुवाको चिल्लो पात भने झैँ विद्यार्थी जीवनदेखि नै आफ्नो नियमित अध्ययनका साथसाथै सिर्जनात्मक क्षेत्रमा लागिरहने अनि क्याम्पसमा हुने हरेक अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने र विशेष स्थान हासिल गरी पुरस्कार जित्न सफल हुने घोडासैनीका अहिले सिर्जना र समालोचना दुबै क्षेत्रका कृतिहरू प्रकाशनमा आउन थालेका छन् ।

यसमा प्राकृतिक सुन्दरता, द्वन्द्वको विभीषिका, सहिदको बलिदान, एकता, विकास र शान्तिको चाहनाले अभिव्यक्ति पाएका छन् । गीतका तुलनामा कवितामा विषयवस्तु उस्तै उस्तै भए पनि संरचनात्मक विविधता र प्रस्तुतिको भिन्नता छ । पीडकप्रति व्यङ्ग्यात्मक आक्रोश छ भने पीडित र असहायप्रति सहानुभूति र संवेदनशीलता व्यक्त भएको छ । केहीमा बौद्धिक दार्शनिकता र शैलीको दुरुहता थपएिको छ, पौरस्त्य, पाश्चात्य मिथकीय सन्दर्भहरू जोडिएका छन् । समग्रमा नबजेका धुनहरूमा राष्ट्रको समुन्नति, भाइचारा, शान्तिको र मानवीय भावनाको सन्देश व्यक्त भएको” कुरा उल्लेख गरिएको पाइन्छ ।

राप्ती साहित्य परिषद् दाङले प्रकाशन गरेको यो कृति वेटलेस पेपरमा छापिएको छ । यो कृति डिमाइ आकारका १४२ पृष्ठमा संरचित छ । यसमा आकर्षक आवरण र मूल्य रु २५०/ राखिएको छ ।

सम्बन्धित
Loading...